वि.सं:
नेपाल संवत: ११४५ तछलाथ्व द्वादशी - १२
जिल्ला अस्पताल सुनसरीको परिचय
नेपालकै पुराना अस्पताल मध्येको एक जिल्ला अस्पताल सुनसरी (तत्कालिन इनरुवा अस्पताल) वि.सं. १९९१ मा तत्कालिन अवस्थामा झोडा फडानी गरी स्वास्थ्य उपचार केन्द्रका रुपमा तयार भएको थियो । वि.सं. १९९६ मा भने झोडाफडानी अस्पतालको नाममा सेवा शुरुवात गरिएको थियो । वि.सं. १९९८ भाद्र २७ मा मात्र तत्कालिन सरकारद्वारा जिल्ला स्तरीय अस्पतालको रुपमा स्वीकृति प्राप्त गरेको इतिहास छ । हाल नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो अद्यावधिक मिति २०७३ माघ २० अनुसार जम्मा ५९ दरवन्दी सहितको ५० शैया अस्पतालको रुपमा सेवा प्रवाह भइरहेको छ । त्यसैगरी संघीय संरचना अनुरुप नेपाल सरकारबाट प्रदेशमा हस्तान्तरण भएपछि कोशी प्रदेश सरकार मार्फत द्वित्तिय तहको प्रादेशिक अस्पतालको रुपमा सेवा प्रवाह गर्ने जिम्मेवारी पाएको छ । सुनसरी जिल्लामा स्वास्थ्य विमा कार्यक्रमको शुभारम्भ २०७४ मङ्गसिर १ गते भए सँगै अस्पतालले स्वास्थ्य विमा कार्यक्रम अन्तर्गतका सेवाहरु समेत प्रवाह गरिरहेको छ । अस्पताल रहेको भुभागको कुल क्षेत्रफल १ विघा १४ कठ्ठा १३ धुर रहेको छ । आकस्मिक सेवा छुट्टै भवनबाट सञ्चालन भइरहेको छ । मुलतः नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय साथै प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, कोशी प्रदेश मार्फत कार्यान्वयनमा ल्याइएका ऐन, नियम, निर्देशिका सहित अन्य मार्गदर्शन समेतको प्रावधान बमोजिम स्वास्थ्य सम्वन्धी चिकित्सकीय, प्रवर्धनात्मक गतिविधिहरु संचालन गरिरहेको छ ।